दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् । विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउनुहुन्छ । “अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ । टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् ।रासस