विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२ सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो । को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन । बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गर्नुभएको थियो । विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्तझैँ हुनुभएको छ । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गर्नुभएको छ । नातिनीको वियोगमा उहाँले खानपिउनसमेत छाड्नुभएको छ । छिमेकी र आफन्त को–पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गर्नुभएको छ । हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताउनुभयो । उहाँले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताउनुभयो । विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने गर्नुहुन्थ्यो ।रासस