ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुरायाइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुरायाइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका–११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुरायाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुरायाइएको छ । “यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पुरायाउन सफल भएका छौँ”, उहाँले भन्नुभयो । यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुरायाउने कार्यको प्रारम्भिक परीक्षण गरिएको निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो । डढेले मुहानको पानी सञ्चित गर्न काफ्लेपाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण गरिएको छ । पाथीभरा मन्दिरमा खानेपानी पुरायाउन २०७७ असोजमा सम्झौता भएको थियो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ । यो आयोजना कुल रु आठ करोड २२ लाखको लागतमा निर्माण गरिएको हो । कार्यकारी निर्देशक काफ्लेका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिको ३० प्रतिशत लागतमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो । सरकारको रु पाँच करोड ७५ लाख र समितिको रु दुई करोड ४६ लाख लगानी रहेको छ ।रासस