दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् । मलको जथाभावी प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुँदैगएको र उत्पादनमा ह्रास ल्याउने काम गरिरहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउनुहुन्छ । कृषि उत्पादन बढाउने उद्देश्यले किसानले युरिया, डिएपीलगायतका रासायनिक मल अत्यधिक प्रयोग गर्ने र यसले बर्सेनि माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरिरहेको उहाँको भनाइ छ । किसानले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका बालीको उत्पादन बढाउनका लागि युरिया, डिएपीलगायत मलसँगै किटनाशक औषधि बढी प्रयोग गर्ने गरेका छन् । किसानले प्राङ्गारिक मलका रूपमा गाईवस्तुको गोबरसँगै केही उद्योगले उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गर्ने गरे पनि अधिकांशले रासायनिक मल प्रयोग गर्ने गरेका छन् । यसबाट माटोलाई आवश्यक पर्ने तत्व पूर्ति हुन नसक्दा उर्वरा शक्ति क्षीण बन्दै गएको अधिकृत महरा बताउनुहुन्छ ।रासस