भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारणले पदत्याग गर्नुभएको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उहाँ भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त हुनुभएको छ । आज भएको केन्द्रीय समितिको बैठकमा उहाँले पदत्यागको घोषणा व्यक्तिगत कारणले गर्नुभएको जानकारी दिइएको थियो । दुई वर्षअघि उहाँ भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भु डक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उहाँहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।रासस