विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिनुभएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । प्रमुख कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिनुभयो । “महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर र माइकिङ गरेर तपाईंहरूलाई सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ”, प्रमुख कोइरालाले भन्नुुभयो, “आजदेखि बाहिर राखे महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा तपाईंहरूले गुनासो गर्न पाउनुहुन्न ।” उहाँले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व सबै महानगरवासीको भएकाले सहयोग गर्न आग्रहसमेत गर्नुभयोे । अनुगमनमा प्रमुख कोइरालाका साथै उपप्रमुख शिल्पा निरौला कार्की, ११ नं वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो ।रासस