आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको छ । सप्तरीमा एक वर्षको अवधिमा भएको १२ वटा हत्याको घटनामा सामान्य विवाद, डिप्रेसन र रिस नै कारण रहेको एक अध्ययनले देखाएको छ । इन्सेकको सन् २०२२ को प्रतिवेदनअनुसार २०७८ पुस १७ देखि २०७९ पुस १६ गतेसम्म सप्तरीमा भएका छ पुरुष, चार महिला र दुई बालक गरी १२ वटा हत्या पारिवारिक विवाद, मादक पदार्थ सेवन, डिप्रेसन, सम्पत्ति र जग्गा विवाद तथा तत्काल उठेको रिसका कारण भएको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताउनुभयो । एक वर्षको अवधिमा बढी चर्चामा रहेको घटनामा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या र पेट्रोल छर्केर भाउजूको हत्या गरेको घटना रहेको छ । छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) भित्रै सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको २०७९ असोज १९ गते हत्या भएको थियो । हत्याको आरोपमा सशस्त्र प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्री कात्तिक २२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । यादवको शव नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत विहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असोज २० गते नाङ्गो अवस्थामा फेला परेको थियो । उक्त घटना सीमा क्षेत्रमा हुने तस्करी र पदीय शक्ति हाबी हुने प्रवृत्ति रहेको बताइएको छ ।रासस