कालीकोटका तीनवटा स्थानीय सरकार विश्वकै दुर्लभ जङ्गली जनावर हाब्रे संरक्षण अभियानमा जुटेका छन् । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाले दुर्लभ जनावर रेडपान्डा पनि भनिने हाब्रेको संरक्षणमा जुटेका हुन् । वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि त्यहाँ बस्ने हाब्रे दुर्लभ हुँदै गएकाले स्थानीय सरकारहरु संरक्षण अभियानमा सक्रिय भएका छन् । कालीकोटका तिलागुफा नगरपालिका र महावै तथा शुभकालिका गाउँपालिकाको जङ्गली क्षेत्रमा हाब्रे पाइन्छ । हाब्रे संरक्षण नहँुदा चोरी सिकारी हुने र बासस्थानमा समस्या भएका कारणले स्थानीय सरकारहरुले त्यसको संरक्षणमा जुटेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “वन विनाश चोरी सिकारी लगायतका कारणले अहिले जङ्गलमा कम मात्रै हाब्रे देखिन्छन्”, उहाँले भन्नुभयो, “अहिले यसको संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरेर संरक्षणको अभियान थालेका छौँ ।” हाब्रे संरक्षणमा जनप्रतिनिधिसहित स्थानीय नागरिक पनि सक्रिय हुनुपर्ने, स्थानीय सरकार सञ्चालनको पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले पनि जनप्रतिनिधिहरूको काँधमा संरक्षणको जिम्मेवारी आएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “हाब्रेको संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती दुवै छन् । यसको संरक्षणका लागि सबैले पहल आवश्यक छ,” उहाँले भन्नुभयो, “दुर्लभ जनवार पाउनु हाम्रो स्थानीय सरकारका लागि गौरवको विषय हो ।”रासस