शिरमा अल्लोको टोपी, मौलिक पगरी, कानमा विरगुली, मखमलको दौरा, शरीरमा बेरेको अल्लो कै भाङ्ग्रा, तल धोती, कम्मरमा पटुकी बाँधेर अल्लोकै झोला भिरेका एक हुल कलाकार काठमाडौँको टुँडिखेल उपस्थित भए । मौलिक पोशाकमा सजिएका मगर समुदायले मौलिक बाजाको तालमा आफ्नो मौलिकता पनि देखाए । राजधानीमा आफ्नो संस्कृतिको जगेर्ना र पुस्तान्तरणका लागि २९ जनाको समूह बाँधेर रुकुमपूर्व भूमे गाउँपालिकाबाट उपत्यका छिरेका उनीहरुले टुँडिखेलको खुला चौरमा मौलिक नचारु, डिक्रे, फाँक चाला र झाँक्री नाचलाई छरपष्ट पारे । मौलिकताले भरिएको विभिन्न चालले सडक बटुवाको पनि ध्यान खिच्यो । झट्ट हेर्दा लोपोन्मुख राउटे समुदायझैँ थियो कलाकारको लवाइ र हाउभाउ । एक बटुवा भन्दैथिए, “ऊ १ राउटेहरुको कस्तो राम्रो नाच ।” तर उनीहरु राउटे नभइ रुकुमबाट आएका मगर समुदाय थिए । उनीहरु माघे सकराती सङ्क्रान्ती पर्वमा आफ्नो परमपरागत पोसाक लगाएर काठमाडौँमा नाच देखाउँदै थिए । त्यही हुलमा एक कलाकार शिखर मौसम जोकर बनेर प्रस्तुत हुनुभयो । उनीहरुको साथमा विभिन्न ताल दिने बाजा पनि बजेको थियो । कलाकारले बाजा कै तालमा नाच प्रस्तुत गरेका थिए । “हाम्रो परम्परा मासिन दिनुहुँदैन, मसियो भने कहाँ खोज्न जाने,” उहाँले भन्नुभयो।रासस