थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।रासस