उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गर्नुभएको छ । माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । महिलाले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना दिँदै आउनुभएको छ । उहाँहरूले यसअघि पनि पटकपटक आन्दोलन र धर्ना गरिसक्नुभएको छ । “गृहमन्त्रीज्यूबाट चिसोमा नबसिदिनुहोस्, माग सम्बोधन गर्न तयार छौँ, कुनै त्रुटि छ भने भन्नुहोस् शङ्का लागेको छ भने पनि जानकारी दिनुहोस् हामी फेरि हेर्छौं, अनुसन्धान गर्छौं”, भेटघाटमा सहभागी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो “कमजोरी भए त्यो पनि भन्नुहोस्, गल्ती गर्नेलाई कारबाही गर्न तयार छौँ भन्ने कुराहरू भयो ।रासस