द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझैँ सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र हाल सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । जिल्लाका सात छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सग्राममपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय र मलङ्गवामा जिल्ला भन्सार कार्यालय अहिले बन्द छन् । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रधुनाथ यादवले बताउनुभयो । व्यापारीले सामानको राजस्व नतिर्ने गरेको पाइएको छ । पछिल्लो समय त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालयमा कार्यालय सहयोगी राखेर छोटी भन्सार कार्यालय संचालन मा ल्याईएको छ। रासस