सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत गरी यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाउन लागिएको बताउनुभयो । “मुुलुकका सबै जातजातिले यो वा त्योरुपमा मनाउने साझा सांस्कृतिक पर्व माघे सङ्क्रान्ति हो । माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जेजस्ता कुरा उपभोग गर्छ ती सबै कृषि जैविक विविधतासँग जोडिएका छन्”, उहाँले भन्नुभयो । माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।रासस