राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको ७५ वर्षको उमेरमा निधन भएको छ । उहाँकी छोरी सुभाषिनी शरद् यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो । केही समयदेखि अस्वस्थ रहनु भएका पूर्वसङ्घीय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा बिहीबार राति उपचारका क्रममा निधन भएको हो । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँले नियमित ‘डायलासिस’ गराइरहनुभएको थियो । नेता यादवको पार्थिव शरीर मध्यप्रदेशस्थित उहाँ जन्मेको गाउँमा लगिने र त्यहाँ अन्तिम संस्कार गरिने दिवङ्गत नेता यादवका ज्वाईं राजकमल रावले बताउनुभएको छ । करिब पाँच दशक लामो आफ्नो राजनीतिक जीवनमा नेता यादवले केन्द्रीय मन्त्री, राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका संयोजक र जनता दल युनाइटेडका अध्यक्षको रूपमा काम गर्नुभएको थियो । भारतमा अग्रणी समाजवादी नेताको परिचय बनाउनुभएका यादवप्रति देशका विभिन्न राजनीतिक दलका नेताले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी, काङ्ग्रेस नेता राहुल गान्धी, कुनै समय उहाँका प्रतिद्वन्द्वी रहनु भएका अर्का नेता लालुप्रसाद यादवलगायतले उहाँको निधनबाट आफूहरू दुःखित भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। रासस