राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन (एन प्याब्सन) कास्कीले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा रु एक लाख ११ हजार एक सय ११ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त सहयोग एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियन्ता सम्झना वर्तौलालाई हस्तान्तरण गर्नुभएको हो । संस्थाले मिर्गाैला पीडित सागर मेमोरियल स्कूलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार पाँच रुपैया सहयोग गरेको छ । उक्त अवसरमा संस्थामा आवद्ध विद्यालय २०७८ सालको एसइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाणपत्र वितरण गरिएको थियो । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले निजी विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताउँदै निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले निजी विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकाले ती समस्या समाधान गर्न सधँै तयार रहेको बताउनुभयो ।रासस