निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्काे आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उहाँले भन्नुभयो, “कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।” पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्विकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताउनुभयो । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।”रासस