महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको छ । युक्रेनका मार्ता चुमालो, इरानका नार्गेस मोहम्मदी र टर्कीका इरेन केस्किनले युद्ध, हिंसा र उत्पीडनबाट मानव अधिकार खतरामा परेको अवस्थामा महिला स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि सम्मान गरिएको ओलोफ पाल्मे मेमोरियल फण्डले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मनोवैज्ञानिक तथा नारीवादी चुमालोलाई महिला अधिकारको प्रबद्र्धन गर्ने र महिलाविरुद्ध हुने हिंसाविरुद्ध लड्ने गैरसरकारी संस्था ‘वुमन पर्सपेक्टिभ्स’का संस्थापकमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ । कोषले भनेको छ, “सन् २०१४ देखि र विशेष गरी सन् २०२२ मा युक्रेनमा रूसको पूर्ण आक्रमणपछि चुमालो युद्धका प्रभावबारे जनचेतना जगाउने र पीडितको आवश्यकतालाई सम्बोधन गर्ने काममा निकै सक्रिय हुनुहुन्छ ।” पत्रकार तथा मानव अधिकारकर्मी मोहम्मदीलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । पुरस्कार चयन समितिका अनुसार मोहम्मदी इरानमा महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको सङ्घर्षका लागि प्रमुख व्यक्ति हुनुुहुन्छ ।रासस