नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचकता देखाएर संशोधन गर्दा निजी क्षेत्रको खस्केको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह भएको जनाएको हो । “उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसङ्घको सुझाव आंशिक रुपमा सम्बोधन भएको छ”, परिसङ्घले विज्ञप्तिमार्फत भनेको छ । संशोधित मार्गदर्शनबाट यसअघि रु ५० लाखसम्म चालू पूँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर रु एक करोडसम्म पु¥याइएकामा त्यसलाई परिसङ्घले सकारात्मक भनेको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने उसको भनाइ छ । त्यस्तै, पुराना चालू पूँजी कर्जाको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिएमा २०८२ असार मसान्तसम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक रहेको धारणा परिसङ्घको छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिवार्य व्यवस्था गर्नुभन्दा अधिक समय दिई कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीलाई सहज उसले जनाएको छ ।रासस