प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताउनुभएको छ । यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको उहाँको भनाइ छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु ।” जनताले आफूहरुप्रति आशाको नजरले हेरिरहेको भन्दै उहाँले भन्नुभयो, “अब केही नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिबद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ ।” “सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “सुशासन राज्यको आम जिम्मेवारी भएकाले सरकार गम्भीर छ ।” उहाँले भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न नसक्ने भन्दै सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि भएको बताउनुभयो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहने भन्दै उहाँले भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुखरूपमा रहने भन्दै आफू गम्भीर जिम्मेवारमा रहेको बताउनुभयो ।रासस