सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लाग्नुभएको छ । उहाँले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गर्नुभएको छैन स्वरोजगार पनि बन्नुभएको छ । रानाले तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गर्नुभएको हो । विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताउनुहुन्छ । अचार उद्योग सञ्चालन गरी राना उदाहरण बन्नुभएको छ । उहाँ अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनुभएको छ । उहाँले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु १० लाख नाफा कमाउनुहुन्छ । मासिक रु चार लाखको हाराहारीमा आचार बिक्री हुने र रु ८० हजारदेखि रु ९० हजार मासिक नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । आर्थिकरुपमा सबल बन्नका लागि आफैँले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उहाँको भनाइ छ । यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आउनुभएको छ । ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो । उहाँले सुरुमा रु दुई लाखको लगानी गरेर उद्योग सञ्चालन गर्नुभएको हो । उहाँले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी रु २० लाख पुर्याउनुभएको छ ।रासस