जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो । एक दशकअघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँविकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको थियो ।“उतिबेला निर्माण गरिएको विद्युतीय बारलाई मर्मत गर्दै अहिलेसम्म प्रयोगमा ल्याइएको छ,” मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की भन्नुहुन्छ–“ब्याट्री डाउन भएको र तार बिग्रिएको रहेछ भने मात्र हात्ती बार नाघेर आउँछ, नभए करेन्ट लाग्ने डरले गाउँतिर पस्दैन ।” सीमा जोडिएका कारण भारतबाट आउने हात्तीको बथान पहिला बाहुनडाँगीमै पस्ने प्रयास गर्छ । सबैभन्दा बढी जङ्गली हात्तीले जनधनको क्षति पुर्याएको क्षेत्र पनि बाहुनडाँगी नै हो । मेचीनगर वडा नं १ को तिरिङदेखि वडा नं ६ को नकलबन्दासम्मको १८ किलोमिटर लामो पहिलो चरणको विद्युतीय घेराबारका कारण भारतबाट हात्ती पस्ने क्रम रोकिँदा बाहुनडाँगीवासीले राहत महसुस गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरण र जनधनको क्षति रोक्न दोस्रो चरणमा दक्षिणी कचनकबल, हल्दिबारी र भद्रपुरमा ४२ किलोमिटर घेराबार बनाइसकिएको छ । अब तेस्रो चरणमा ५७ किलोमिटर घेराबारको परियोजना कार्यान्वयनमा ल्याइएको छ ।रासस
