सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् । शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताउनुभयो । सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ध्यनरत छन् । कक्षा छ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताउनुभयो । “डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ”, उहाँले भन्नुभयो, “यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन ।” विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ । विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ । शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताउनुभयो । विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । “दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु ?”, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भन्नुभयो, “सबै विषयको पढाइ कहिल्यै हुँदैन ।” रासस