गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भन्नुभयो, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन ।” विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । आज हुने डेमोस्ट्रेसन उडानका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो । जहाज काठमाडौंबाट बिहान ११ बजे उड्ने छ भने विमानस्थल आइपुग्दा करिब ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । रासस