कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्ने क्रममा नेपाल सरकारको निर्देशनमा बन्द गरिएको साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा हरेक शुक्रबार लाग्ने हाटबजार कोरोनाका कारण करिब दुई वर्ष बन्द भएको थियो । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्दै उनीहरूको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले विसं २०७७ पुस १० गतेदेखि हरमटारमा हाटबजार सञ्चालनमा ल्याएको थियो । कोरोना भाइरसको महामारी फैलिएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशनानुसार हाटबजार बन्द गरिएको थियो । विसं २०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, घरेलु तथा साना उद्योग महासङ्घ, नागरिक समाज, अगुवा कृषकलगायतको समन्वय बैठकको निर्णयानुसार बन्द रहेको हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र हरमटारमा साप्ताहिक हाटबजार सञ्चालनमा आएपछि विशेषगरी सागसब्जी, फलफूल, दाल, अन्न, पशुपक्षी, कपडालगायतका वस्तुको किनबेच सुुरु भएको छ । बन्द रहेको लामो समयपछि हाटबजार पुनः सञ्चालन हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् ।
हरमटारको हाटबजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का युवानेता राजन मगरले बताउनुभयो । छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसब्जी उत्पादनका लागि चर्चित छ । गाउँपालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापन गर्न हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । “रावाबेँसीमा धेरै कृषि उपजहरू उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ”, उहाँले भन्नुभयो, “कृषकको सहजताका लागि बन्द रहेको हाटलाई पुनः सञ्चालनमा ल्याइएको हो । आगामी दिनमा कृषि पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउँदै पालिकाभित्र हुने आयातलाई कम गर्ने योजनासमेत बनाइएको छ ।” खानेतेल आयातलाई रोक्न गाउँपालिकाले तोरी उत्पादनका लागि कृषकलाई बीउ उपलब्ध गराएको छ । आगामी दिनमा गुन्द्रक, भुजा, अचारलगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी गाउँसभाबाटै कार्यक्रम पारित गरेर सञ्चालन गरिएको कृषि शाखा प्रमुख मुगाधन राईले बताउनुभयो ।