थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् । यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर ¥याली निकालिएको थियो । सो ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती ¥यालीमा देखिन्थे । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो । आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी दिनुभयो । त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ ।