नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ तर यसको अभ्यास सही रुपमा नहुँदा धेरै सहकारीमा समस्या आउन थालेको हो । सहकारीका साधारणसभालगायत फोरममा सहकारीमा हुनुपर्ने लोकतान्त्रिक अभ्यास कमैमा मात्र देखिन्छ । यो अभ्यासको अभावमा सहकारीमा समस्या आएकामा यस क्षेत्रका विज्ञ सहमत छन् । सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका संविधानविद् काशीराज दाहाल किराना पसल खोलेजसरी सहकारी खोल्न नहुनेमा जोड दिनुहुन्छ । सहकारीको सिद्धान्त राम्रो भए पनि व्यवहारमा यसको सही अभ्यास नहुँदा भएको समस्यालाई समाधानका लागि त्यसैअनुरुप काम गर्नुपर्ने उहाँको भनाइ छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले शुक्रबारदेखि बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक प्रदेशस्तरीय दुई दिने कार्यशाला गोष्ठीमा ‘संविधान, सङ्घीयता र सहकारी’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले किराना पसल खोले जसरी सहकारी खोल्न दिँदा समस्याग्रस्त हुने गरेकाले यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।