सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु हुन् । यी वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले बजेटमा राखेको छ । जुत्ताचप्पलको निर्यातमा अनुदान दिने नीति सरकारले लिएको भए पनि त्यसका लागि व्यावसायिक वातावरण भने बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । स्वदेशी उत्पादनको संरक्षण र बजार बिस्तारका लागि सरकारी पहल हुन नसकेको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानिराज घिमिरे बताउनुहुन्छ । “सरकारले निर्यातमा अनुदान दिने त भन्यो तर त्यसका लागि हामीले कुनै सहयोग पाएनौँ । सरकारको नीति सकारात्मक भए पनि व्यवहारमा हामीले अनुभूत गर्न सकेका छैनौँ”, घिमिरेले भन्नुभयो । नेपाली जुत्ताचप्पलको उत्पादन लागत बढी हुने भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिएको उहाँको भनाइ छ । बैंकको उच्च ब्याजदर, कच्चा पदार्थमा उच्च भन्सार दर, चोरी पैठारी, न्यून बिजकीकरणलगायतका समस्या रहेको घिमिरेले बताउनुभयो ।

सरकारले जुत्ता चप्पलको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भने पनि अधिकांश नेपाली उत्पादकले यस्तो अनुदान लिन नसकेको घिमिरे स्वीकार्नुहुन्छ । “आठ प्रतिशतसम्म नगद अनुदान लिनका लागि धेरै उत्पादकहरूका कारोबार रकम नै पुग्दैन । तर तीनदेखि पाँच प्रतिशतसम्म अनुदान लिइरहेका उत्पादकहरू अहिले पनि छन्”, उहाँले भन्नुभयो । फुटवेयर उद्योगको उत्पादन बढाउने र निर्यातमार्फत् अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने क्षेत्र रहे पनि अनेकौँ समस्या यो क्षेत्रले खेप्नु परेको उहाँको भनाइ छ । “आन्तरिक बजार समस्यामा पर्नुको मुख्य कारण चोरी पैठारी हो । दक्ष कामदार छैनन् । फुटवेयरसँग सम्बन्धित पाठ्यक्रम छैन । हाम्रो समाजले नै जुत्ताचप्पल व्यवसायलाई सम्मानित पेसाका रूपमा लिएको देखिँदैन । बाहुन क्षेत्रीले जुत्ता बनाएको वा बेचेको भनेर सामाजिक प्रतिष्ठासँग जोडिन्छ”, अध्यक्ष घिमिरेले भन्नुभयो । भन्सार विभाग र आन्तरिक राजस्व विभागले सीमा नाकामा कडाइ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके चोरी पैठारी रोकिने उहाँको भनाइ छ । अहिले राजधानीको भृकुटीमण्डपमा १६ औँ अन्तर्राष्टिय फुटवेयर औद्योगिक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा स्वदेशी जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगी, थोक तथा खुद्रा बिक्रेता सहभागी छन् । शुक्रबार आफ्नो कम्पनी युनाइटेड फुटवेयर इन्ड्रस्टिजको स्टलमा भेटिनुभएका सदाब अख्तर अहिले जुत्ता चप्पलको कच्चा पदार्थ उत्पादनमा पनि नेपाल आत्मनिर्भरको बाटोमा रहेको बताउनुहुन्छ । “हामीले विगत २५ वर्षदेखि नेपालमा छाला उत्पादन गर्दै आएका थियौँ । छालाका जुत्ता चप्पल बनाउनका लागि नेपालमै गुणस्तरीय र पर्याप्त कच्चा पदार्थ उत्पादन भइरहेको छ”, अख्तरले भन्नुभयो ।