दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ । त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता नेपाली नागरिकहरुलाई भारतको विभिन्न सहरहरु (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गोलगायत मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोड्ने घटना भइरहेका छन् । कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरुमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरु बढ्दै गएको दूतावासले जनाएको छ ।