काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो । प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी-ज्यामिरगढी-चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताउनुभयो । पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा-विर्तामोड-चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा-चारआली-चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ । मेचीनगर-१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताउनुभयो । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन ।