बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन् । खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ । तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो । तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो । ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ । ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ । तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ । बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ । लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ । यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताउनुभयो । उहाँले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउनुहुन्छ ।