लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत हुनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आउनुभएको छ । “तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु”, उहाँले भन्नुभयो । बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताउनुभयो । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उहाँको भनाइ छ । उहाँले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आउनुभएको छ । पुरस्कार ग्रहण गर्न काठमाडौँ आउनुभएका उहाँले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताउनुभयो । “पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जु¥यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
