चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरुवातसँगै बालबालिकामा ‘रोटा भाइरस’को सङ्क्रमण देखिने गरेको बताउनुहुन्छ । धेरैजसो चिसो याममा झडापखालाबाटै रोटा भाइरसको सङ्क्रमण हुने गरेको उहाँको भनाइ छ । निर्देशक बसौलाका अनुसार चिसो याममा ‘रोटा भाइरस’ धेरै सक्रिय हुने र यसबाट बालबालिकालाई पखला लाग्ने गर्दछ । ‘कोल्ड डायरिया’ पनि भनिने ‘रोटा भाइरस’ले सिधैँ पेटमा असर गर्ने र पखला लगाउने गर्छ । “पखला भएपछि बालबालिकाको दिसा पानीजस्तो हुन्छ’’ उहाँ भन्नुहुन्छ, “निरन्तर पानीजस्तो पातलो दिसा बगेपछि बालबालिकाको शरीरमा पानीको कमी हुने भएकाले पानी पूर्ति हुने नसके ज्यान पनि जान सक्छ ।” निर्देशक बसौलाका अनुसार अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागेर भर्ना भएका पाँच वर्ष मुनिका बालबालिकामा अध्ययन गर्दा ३८ प्रतिशतमा ‘रोटा भाइरस’ देखिएको थियो । धेरैजसो एक वर्षदेखि पाँचवर्ष मुनिका बालबालिकालाई यस्तोे सङ्क्रमण हुने गरेको पाइन्छ । जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३० प्रतिशतभन्दा बढीमा ‘रोटा भाइरस’को सङ्क्रमण हुने गरेको छ ।