म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् । कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने गर्छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, कुहँु, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट नै प्रयोग गर्दै आएका हुन् । नारच्याङमा चित्रमायाँ र केशनारायण बुद्धजाका परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो । ‘‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले बिहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’’–चित्रमायाँले भन्नुभयो । परम्परागत रुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकीे प्रयोग हुने गथ्र्यो । पुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको अर्का पानीघट्ट सञ्चालक बुद्धुजाले बताउनुभयो । पानीबाट चल्ने घट्ट बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुने क्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीबाट चल्ने मिलको प्रयोग बढिरहेको अवस्थामा जलविद्युत् गाउँको रुपमा परिचित नारच्याङमा भने अझै पनि पानीघट्टप्रतिको आकर्षण घटेको छैन् ।