मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ । यसपालि यो पर्व अब १० दिनपछि पर्दैछ । यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको जोहोको तयारी बढेको हो । हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरे पनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ । अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारु बस्ती भने पर्वको चहलपहलमा लागिसकेका छन् । छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ । ‘अब पवनी (पर्व) आई त हाल्यो’ धमाधम चिउराका लागि धान निफन्न व्यस्त भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिनासिंह थारु भन्नुहुन्छ, “सबै कुराको जोगार (जोहो) मा लाग्नु प¥यो नि ।” पर्व नजिकिएसँगै थारु बस्तीका घरघरैजसो सरदाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको नगिना बताउनुहुन्छ ।