रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र लुकुमगाड खोलाको तिरैमा जिल्लाकै प्रमुख पर्यटकीयस्थलमध्येको देउराली गुफा छ । गुफाभित्रका कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । भनिन्छ, पहिले गुफा दुई तलाको थियो । अहिले एक तला बन्द भइसकेको छ । गुफाभित्र जताततै घँुडासम्म डुबाउने पानी छ । माथिबाट तपतप पानी चुहिरहन्छ । गुफामा चमेरा पाइन्छ । बत्ती लिएर भित्र पस्दा पानीले भिजाउँछ । गुफामा चैतेदशैँ र नयाँ वर्षमा मेला लाग्छ । आन्तरिक पर्यटकको आकर्षण बढेको यसको उचित संरक्षण तथा व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ । गुफा अगाडि मेला लाग्दा भिरमा भएपनि कोचिएर सय जनासम्म अटाउँछन् । “पहिले गुफाभित्र विभिन्न आकृतिका मूर्ति थिए”, रुमालबाराकी सीता मल्लले भन्नुभयो, “पञ्चेबाजा, वाद्यवादनका सामग्री, सानो बच्चालाई दूध चुसाउँदै जातो घुमाइरहेको, ढिकी कुट्दै गरेको, भालुको मुख, हात्ती, विभिन्न देवीदेवताका मूर्ति तथा पत्थरबाट बनेका मालालगायत अनौठा खालका भित्तामा टाँसिएका थुप्रै मूर्ति थिए । अहिले ती मूर्ति देखिँदैनन्, टुटेफुटेका निशाना मात्र देखिन्छन् ।” सिस्ने गाउँपालिका–५ का सूर्यबहादुर नेपालीका अनुसार ५५ वर्ष अगाडि देउराली गुफाबाट छिरेर भित्रभित्रै पाँच किलोमिटर पर बागदुला र तीन किलोमिटर पर खानीदुलाबाट बाहिर निस्कने ठाउँ थियो । देउराली गुफाभित्रबाट धेरै परसम्म जाने ठाउँ देखेपछि परीक्षणका लागि चमेरा छोपेर त्यसलाई रङ घसेर देउराली गुफामा राखिदिएको र चमेरा खानीदुलाबाट बाहिर निस्किएको थियो । उहाँले भन्नुभयो, “आजकल खानीदुला र बागदुलाको स्थिति के छ, कसैलाई थाहै छैन ।”
