गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए)द्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उहाँले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताउनुभयो । परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । राजनीतिक नेतृत्वले लिएको सिद्धान्तलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र लाग्नुपर्नेमा जोड दिँदै उहाँले निजामती कर्मचारी कुनै पनि शासन व्यवस्थाको ऐना हो भन्नुभयो । सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनकै लागि गण्डकी प्रदेश सरकारले कर्मचारीका लागि नियमितरुपमा तालिम सञ्चालन गरेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सङ्घीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख गर्दै उहाँले प्रहरी समायोजनमा विलम्ब, निजामती कर्मचारी ऐन ल्याउन आलटाल गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको बताउनुभयो ।