पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपालमै बसेर केही गरौँ न भनेर सुन्तला खेती, कुखुरापालन व्यवसाय सुरु गर्नुभएको थियो । व्यवसाय खासै उकास्न सकिन । उहाँ भन्नुहुन्छ, ‘‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो । अन्त्यमा परदेश नगइ सुखै पाइन । उहाँको अङ्समा थोरै जमिन परेको छ । त्यसको आयस्ताले खान पुग्दैन ।’’ आफूसँग खास कुनै सीप नहुँदा केही गर्ने आँट नआएपछि विदेश नै जानु उपयुक्त ठानेको उहाँ भन्नुहुन्छ, ‘‘साना लाल घर चलाउनु प¥यो । महँगी धेरै छ ।” त्यस्तै व्यथा छ गुल्मी भड्कुवाकी शान्ता ज्ञवालीको पनि । उहाँ पनि दोहोरायाएर कतार जान लाग्नुभएको हो । सानोतिनो कामले घरखर्च चलाउन मुस्किल भएपछि उहाँका लागि पनि वैदेशिक रोजगार नै विकल्प बन्यो । ‘‘श्रीमान् बित्नुभयो, एउटा छोरा छ, उसको लालनपालन शिक्षा दीक्षाको जिम्मेवारी म माथि छ । आफूले पढेकी छैन, न कुनै सीप छ हातमा । बाध्य भएर विदेश नगएर के गर्नु ?’’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘श्रीमान् बितेपछि परिवारको पनि हेला भइँदो रहेछ । परिवारको हेला सहनुभन्दा विदेश गएर केही कमाउनु नै उत्तम विकल्प ठाने ।’’