म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि रायाफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी रयाफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित पुयाफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताउनुभयो । ‘‘हिउँदयाममा नियमितरूपमै सञ्चालन गर्ने गरी रायाफ्टिङ सुरुआत गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमितरूपमै रायाफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ”, उहाँले भन्नुभयो । कालीगण्डकी नदीमा रायाफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेकोे छ । रायाफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताउनुभयो ।