म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले ¥याफ्टिङ र कायाकिङ सुरु गरेको बताउनुभयो । “म्याग्दीका पर्यटकीयस्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाइ लम्ब्याउन जलयात्राले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो “छोटो र लामो दूरीको जलयात्राको प्याकेज बनाएका छौँ ।” पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर टे«किङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वरदेखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ । गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु एक हजार दुई सय शुल्क तोकिएको ¥याफ्टिङ गाइड होम पुनले बताउनुभयो । सो शुल्क खाजासहितको हो । एक पटकमा आठ जनाले ¥याफ्टिङ गर्न सक्नेछन् । कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृश्यावलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो । नदीमा बग्दै वरपरका बस्ती, झरना, पहाड र खोँचको दृश्यावलोकन गर्न सकिन्छ । यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन ।
