नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) सौरभ बज्राचार्यले गत साता डिजाइन बुझाइएको र अहिले समीक्षा (रिभ्यू)को काम भइरहेको बताउनुभयो । “हामीसँग रिभ्यूका लागि ४५ दिनको समय छ, सो अवधिभित्र स्वीकृति दिनुपर्छ ।” निर्माण कम्पनीले तयार गरेको डिजाइन केन्द्रले भने अनुसार नभए हेरफेर हुने सूचना अधिकारी बज्राचार्यले बताउनुभयो । केन्द्रले आवश्यक भनेका कुरा समेटिएको भएमा भने स्वीकृत हुने उहाँको भनाइ छ । “सडक विभागले स्वीकृत गरेपछि फिल्डमा काम हुन्छ”, उहाँले भन्नुभयो । केन्द्रका अनुसार निर्माण व्यवसायी र विदेशी इन्डिपेन्डेन्ट चेकर (स्वतन्त्र जाँच गर्ने व्यक्ति)सँग यसमा छलफल हुनेछ । आगामी साता कम्पनीसँग परामर्श बैठक हुने र केही परिवर्तन गर्नु नपरे डिजाइनअनुसार निर्माण अघि बढ्ने उहाँको भनाइ छ । योजना निर्माणको जिम्मेवारी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ । सोही कम्पनीले अहिले नारायणगढ–बुटवल सडकखण्डमा काम गरिरहेको छ । गतवर्ष भएको ठेक्काको निर्माण अवधि चार वर्षको हुनेछ । जसमा पहिलो वर्ष डिजाइनमा र बाँकी तीन वर्ष निर्माणमा खर्च हुनेछ ।