गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघँुरिदै जान थालेको छ । तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ । समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिनुहुन्छ । “चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो भरिएको छ”, उहाँ भन्नुहुन्छ, “ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।” जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ । तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् । “केही वर्षअघि ताल सफा गर्दा तलको मुहान सुक्यो पनि पछि पानी भरिएपछि फेरि खोला बगेको थियो”, दर्जी भन्नुहुन्छ, “यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।” समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्री बताउनुहुन्छ । “आजसम्म संरक्षणमा कसैले पनि चासो दिएको पाइएन, अब हामी संरक्षण र प्रचार–प्रसार गर्छौँ। तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल विस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना छ”, उहाँ भन्नुहुन्छ ।