पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यायातायात (स्टिमर) चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यायातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरिमै भए पनि जल यातायातको रामै्रैसँग अनुभव लिए । समय समयमा मर्मतका साथै वर्षातमा पानीको बहाब बढ्दा जल यायातायात नचल्ने भए पनि थाहा नहुँदा टाढाबाट आएका पर्यटक निराश बनेर फर्कने शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताउनुभयो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म रमणीय दृश्य अवलोकन गर्दै सात किलोमिटरको दूरीमा विगत १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । जल यायातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरेको छ ।
