स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् । जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोेर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३१ हजार दुई सय ६६ जनाले स्वास्थ्य बीमा गरेर वार्षिक रु एक लाखसम्मको स्वास्थ्योपचार सेवाको लाभ लिइरहेका छन् । “गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्न सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा निकै प्रभावकारी भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि हुदै गइरहेको छ भने एकपटक बीमा प्रणालीमा सूचीकृत भएकाहरूले स्वास्थ्योपचारमा पाएको छुट सुविधाले अधिकांश सेवाग्राहीले नवीकरण गरेर नियमितरूपमा सेवाको लाभ लिनतर्फ आकर्षित हुँदै आएका छन् ।” स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा सेवालाई प्रत्येक नागरिकलाई सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर हाल सबै वडामा दर्ता सहयोगीमार्फत घर–घरमै सेवा पुर्याएको बोर्डले जनाएको छ ।