बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो । त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि÷इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन ग¥यो । बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो । उहाँका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ । उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।