प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो । नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोक्नुभएको हो । अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।