बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । बैठकको प्रथम वक्ता नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेपाली कांग्रेस देशको सार्वभौमसत्ता र राष्ट्रियताको दीगो संरक्षणको लागि सधैँ मन, वचन र कर्मले प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै जनप्रतिनिधिहरूले जनताको लागि नै सेवाभाव र उत्तरदायित्व बोध गर्न सके प्रदेशमा पनि सुशासन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले) का संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा विकासको पूर्वाधारलाई अगाडि बढाउन सङ्घीय सरकारले प्रदेश सरकारलाई समन्वयात्मक भूमिकामा सहयोग प्रदान गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । बैठकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको हिमाल, पहाड र भित्रि मधेसमा विकासको पूर्वाधारलाई गतिशील प्रदान गर्न राजनीतिक दलमा इमान्दारी आवश्यकरहेको बताउनुभयो । बैठकमा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले राप्रपाको पहिचान, नीति र सिद्धान्त फरक भए पनि देशको राष्ट्रियता र सार्वभौमसत्तालाई जीवन्त राख्न सबै राजनीतिक दलबीच आपसमा समन्वय र सहकार्य हुनुहपर्ने खाँचो औँल्याउनुभयो ।