झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले आज उद्घाटन गर्नुभयो । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रुपमा सहयोग सङ्कलन गरी रू एक करोड ६६ लाख पाँच हजार ७०६ को लागतमा प्लान्ट स्थापना गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नगरप्रमुख पोखरेलले व्यक्तिगत रुपमा रू १० लाख उपलब्ध गराएर अक्सिजन प्लान्ट स्थापनाको अभियान सञ्चालन गर्नुभएको थियो । “मैले कोरोना बेलामा अक्सिजन अभावमा अकालमा ज्यान गुमाउनुपरेकाकोबारे विभिन्न सञ्चारमाध्यममा पढेँ–देखेँ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “त्यसैले आफैँले सहयोग गरेर प्लान्ट स्थनापको अभियान चलाएँ, धेरैले सहयोग गर्नुभयो, त्यसैको परिणाम प्लान्ट सञ्चालनमा आएको छ ।” कोरोनाकालदेखि हालसम्म नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यहाँबाट उत्पादन हुने अक्सिजन आवश्यकताका आधारमा जिल्लाका विभिन्न अस्पतालमा सहुलियत दरमा उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । उक्त अभियानका क्रममा विभिन्न सङ्घसंस्था र व्यक्ति गरी एक सय १७ दाताबाट रू ५८ लाख ४३ हजार चार सय १३ सङ्कलन भयो । नगरपालिकाबाट रू एक करोड सात लाख दुई हजार दुई सय ९२ लगानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।