खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये हालसम्म बिर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार लहान, जनकपुर र भैरहवामा भने अझै खरिद कार्य सुरु भइसकेको छैन । “खाद्य व्यवस्था कम्पनीका सात कार्यालयबाट आइतबारसम्ममा ६३ हजार तीन सय क्वीन्टल धान खरिद भइसकेको छ । तीनवटा कार्यालयले भने खरिद सुरु गरिसकेका छैन । ती कार्यालयबाट पनि चाँडै सुरु गर्ने तयारीमा छौँ”, सुवेदीले भन्नुभयो । यसवर्ष ३० हजार २० मेट्रिकटन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि रु ९९ करोड बजेट छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिकटन धान खरिदको योजना बनाएको छ । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ तोकी दिएको छ । गतवर्षको तुलनामा मोटा धानमा प्रतिक्वीन्टल रु दुई सय १५ र मध्यम धानमा रु दुई सय २६ बढाएर समर्थन मूल्य तोकिएको छ ।