नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिनुभएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा हुनुहुन्छ । अस्पताल तथा घरमा पालैपालो स्वास्थ्योपचार तथा आराममा रहनुभएका रानालाई आफूले खाँदै आएको पेन्सन पट्टा (जीवित प्रमाणपत्र) नवीकरणको समय नजिकिँदै गर्दा पिरोल्थ्यो । नवीकरण गर्न कसरी कुन व्यक्ति साथमा लिएर जाने समस्याले बिरामी अवस्थामा उहाँलाई तनाव झेल्नुपर्ने समस्या थियो । पहिलो पटक रामपुरमै पेन्सनपट्टा नवीकरण शिविर बसेपछि भने ठूलो राहतको उहाँले अनुभूति गर्नुभएको छ । “हरेक वर्ष पेन्सनपट्टा आफैँ तानसेन वा पोखरा गएर नवीकरण गर्नुपर्दा धेरै दुःख झमेला झेल्नुपर्ने”, उहाँले भन्नुभयो, “आवतजावतमा खर्च, भनेको समयमा काम नबन्दा कहिलेकाहीँ त्यत्तिकै फर्कनुपथ्र्यो, अहिले गाउँमै सेवा पाउँदा हामीजस्ता रोगी ज्येष्ठ नागरिकलाई धेरै सजिलो भयो ।” पेन्सन सेवा उपभोग गर्ने अवकाश प्राप्त व्यक्ति तथा निजका श्रीमती, परिवारका सदस्यले हरेक वर्ष आफैँ उपस्थित भएर तानसेन वा पोखरा आफूलाई पायक परेको ठाउँमा पुगेर नवीकरण गर्नुपर्नेछ । ज्येष्ठ नागरिक, बिरामी, अशक्त व्यक्तिलाई सो ठाउँमा व्यक्ति आफैँ उपस्थित भएर नवीकरण गर्न सडक समस्या, आउने जाने झण्झटले सधैँ पिरोल्ने गर्दथ्यो । अठार वर्षदेखि श्रीमान्का नामबाट पेन्सन खाँदै आउनुभएकी ८० वर्षीय विष्णादेवी दर्लामी सधँै अरुको साहारामा नवीकरण गर्न जानुहुन्थ्यो ।