अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका–३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देसका विभिन्न क्षेत्रका विद्यालयबाट अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक बढेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले बताउनुभयो । कोरोना पछि विस्तारै यहाँको पर्यटन चहलपहल बढ्न थालेको उहाँ बताउँनुहुन्छ । बिदाको दिनमा यहाँ घुम्न आउने पर्यटकको संख्या बढी रहेको उहाँले बताउनुभयो । दोलखाको भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले वेदव्यासको जन्मभूमि पवित्र भूमिमा आएको बताउनुभयो । फोहर व्यवस्थापनको अध्ययनका लागि आएको अवस्थामा वेदव्यासको जन्मभूमिमा आएको बताउनुहुन्छ । नगरपालिकाको नाम नै वेदव्यासको नामबाट राखिँदा छुट्टै यहाँको प्रचारप्रसार भएको उहाँ बताउँनुहुन्छ । “आन्तरिक पर्यटकीयस्थलको हामीले नै प्रचारप्रसार गर्न सक्नुपर्छ । नगरपालिकाले पनि सकेको प्रचारप्रसारमा जुटेको रहेछ”,उहाँले भन्नुभयो । व्यासभूमिको प्रचारप्रसारका लागि एक महिने हिन्दू महामिलन, एक सय आठ फिट अग्लो व्यासको मूर्तिनिर्माण लगायतका कार्य गरी पर्यटकलाई आकर्षित गर्ने कदम चालिएको छ । यस क्षेत्रमा बिदाको दिनमा करिब एक सय ५० देखि दुई सय आन्तरिक पर्यटक भित्रिने गरेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले जानकारी दिनुभयो । “बिदाको दिनमा अवलोकन भ्रमणमा आउने अधिकांश विद्यार्थी वेदव्यासका बारेमा जानकारी लिन आउने गरेका छन्”, उहाँले भन्नुभयो ।